काठमाडौं । नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो पुरानो जहाज बिक्री गर्ने भएको छ ।
कम्पनीले आफ्नो हवाई सेवाको सुरुवाती जहाज १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बेच्न लागेको हो । कम्पनीका अनुसार क्यानडाको स्काइलिंक कम्पनीले उक्त जहाज खरिद गर्न लागेको हो । बुद्ध एयरले आफ्नो स्थापनाकाल सन् १९९७ मा ‘नाइन एन (एईई र सन् १९९८ मा ’नाइन एन एईडब्लू) दुईवटा जहाज खरिद गरेको थियो ।
२५ वर्षअघि प्रतिएयरक्राफ्ट ४.५ मिलियन अमेरिकी डलरमा खरिद गरिएको उक्त जहाज क्यानडियन कम्पनीलाई बिक्री गर्न लागिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए । पुरानो जहाजको मर्मत खर्च तथा व्यवस्थापनमा समस्या भएपछि कम्पनीले आफ्नो पुरानो जहाज बेच्न लागेको हो । यद्यपि, पुरानो जहाज भएपनि उचित मेन्टेनेन्सपछि जहाजले काम गर्ने हुँदा क्यानडियन कम्पनीले खरिद गर्न लागेको बुद्ध एयरको भनाइ छ ।
योसँगै कम्पनीले तीनवटा नयाँ एटीआर जहाज तत्काल थप्ने तयारी गरेको छ । हाल बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर–७२ ५०० एयरक्राफ्टसँगै ३ वटा एटीआर–४२ जहाज रहेका छन्।
प्रतिक्रिया