२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”



पोखरा । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो ।

आइतबार विहान साढे १० बजे तिर उनी सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झरे । नदीमा बल्छी थापेको त्यस्तै १०–१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो ।

“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उनले भने, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।” यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उनी पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लागे । “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उनले सुनाए, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।”

केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उनलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । “बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उनले भने, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।” खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भने, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।”

आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्छन् । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ?” अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान धन्यवाद दिँदै बसेका छन् । “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उनले भने ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ । घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ । सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ ।

थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार ४६ जनाको शव काठमाडौं पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको