२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

डेङ्गु नियन्त्रण गर्न उच्च प्राथमिकता


९ आश्विन २०७९, आइतबार  

0
Shares

डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् । सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड–१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो”, उहाँले भन्नुभयो, “हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।” डेङ्गु नियन्त्रणका लागि लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थान जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रत्येक वडामा जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।” ‘सबै जागौँ, सबै लागौँ ः वरिपरि जमेको पानी हटाई डेङ्गु भगाऔँ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । व्यास नगरपालिकाले मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फाल्नुका साथै सचेतना प्रदान गरेको छ । आँबुखैरेनी गाउँपालिकाले पनि डेङ्गुबाट बच्नका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । “डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्रायः दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, उहाँले भन्नुभयो, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।” यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यस्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिएको छ । डेङ्गुबाट ८८ सङ्क्रमित तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ । सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो । दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा भर्ना भएर उपचार गराउने तीन जनामध्ये एक जना उपचारपश्चात घर फर्किएका छन् दुई जनाको उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख डा राजु रानाले जानकारी दिनुभयो । बन्दीपुर अस्पतालमा भर्ना भएर सात जनाको उपचार गरिएकामा चार जना उपचारपश्चात घर फर्किएका छन् । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनालाई डेङ्गु पुष्टि भएकामा २७ जना भर्ना भएर उपचार गराएका थिए । उपचाररत २७ जना नै उपचारपश्चात घर फर्किसकेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । डेङ्गु परीक्षणका लागि स्वास्थ्य कार्यालयमा किट अभाव रहेको छ । स्थानीय तह र अस्पतालले नै किट खरिद गरेर परीक्षण गर्ने गरेकाले सहज भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताउनुभयो । “स्वास्थ्य कार्यालयमा किट छैन, पालिकाले नै व्यवस्थापन गरिदिएकाले परीक्षणमा सहज भएको छ”, अधिकारीले भन्नुभयो । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको चिकित्सक बताउँछन् । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखापरिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको दमौली अस्पतालका निमित्त प्रमुख डा रानाले बताउनुभयो । डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रेडियो तनहुँको अध्यक्षमा श्रेष्ठ यसैबीच तनहुँ सूचना समाज सहकारी संस्थामार्फत सञ्चालनमा आएको रेडियो तनहुँ ९७.२ मेगाहर्जको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन हुनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ झरौटामा सञ्चालनमा रहेको रेडियोको अध्यक्षमा उहाँ चयन हुनुभएको हो । रेडियो प्रशारणमा आएको १५ वर्षपछि सञ्चालक समितिको नेतृत्व परिवर्तन भएको हो । शनिबार सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनमार्फत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रेशमलाल पौडेल, सचिवमा लालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सुजनकुमार श्रेष्ठ र सहसचिवमा नारायणदत्त अधिकारी चयन हुनुभएको छ । सदस्यमा समुन्द्रराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, उमाकान्त श्रेष्ठ, पूर्णबहादुर थापा, यामबहादुर खाँण, राजेश्वर खनाल, सुन्दर बस्याल र बलराम मिश्र चयन हुनुभएको छ । अधिवेशनमार्फत गायत्रीप्रसाद पौडेलको संयोजकत्वमा हुमबहादुर खड्का, माधवप्रसाद अधिकारी, सुरजकुमार श्रेष्ठ र कुलप्रसाद गुरुङ सदस्य रहने गरी लेखा समिति गठन गरिएको छ । अधिवेशनले रेडियोको स्थापनाकालदेखि अध्यक्ष भई कार्यकाल सम्हाल्नुभएका प्रा डा चन्द्रबहादुर थापालाई संरक्षकका रूपमा राख्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ