४ असार २०८३, बिहिबार । June 18, 2026

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान


३ मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् ।

प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ । विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार रहेका छन् । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन् । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्ने छन् । उनि रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन्।

अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेका उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । उनले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । उनी सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् । कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन् ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै छन् । उनी सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन्। जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । श्रेष्ठ काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार छन् ।जसपाका प्रवक्ता मनिस सुमनले राजविराज–३ स्थित केएएमबी माविबाट मतदान गर्दै छन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै छन् ।

महतो सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने जनाईएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाडौँ–५ स्थित टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दै छन् । यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै छन् । एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नेछन् । संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन् ।

एमाले नेता रामबहादुर थापाले भरतपुर–१० नारायणी नमूना माविमा मतदान गर्नेछन् । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नेछन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् । मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ । यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नेछन् ।

त्यसैगरी आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर केन्द्रमा मतदान गर्नेछन् । आयुक्त डा जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४ धापासीस्थित फैमालचुली मतदान केन्द्रमा मतदान गर्नेछिन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा