काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा पुजा गरिने भएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी (काया अष्टमी) को दिन गरिँदै आएको दशमहाविद्या परिक्रमा तथा पूजा यो वर्ष असोज ३ गते ललितपुरको बलुखा टोलमा रहनुभएकी माता भैरवीबाट सुरु हुनेछ ।
यो पूजा दशमहाविद्या मन्दिर रहेको टोल समितिको आयोजना र श्री दश महाविद्या परिक्रमा पूजा व्यवस्थापन केन्द्रिय समिति अन्तर्गत गरिँदै आएको छ ।
पाटनका १० टोलमा अवस्थित दशमहाविद्याका देवीहरूको मन्दिरमा चक्रिय प्रणाली अनुसार प्रत्येक वर्ष पालो गरेर परिक्रमा गरिने तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटाले बताए ।
उनले भने, “स्थानीय जुन ठाउँमा देवी हुनुहुन्छ, त्यहाँ चक्रिय प्रणाली अनुसार पूजा गर्ने तथा पालो दिने चलन भएपनि पूजा गर्ने स्थानमा भने देवीहरूको क्रम अनुसार नै पूजा गरिन्छ ।”
पूजा संकल्प भने टोलको विशिष्ट व्यक्तिबाट गरिन्छ भने पूजा गर्ने देवाकुल ब्राह्मण (राजोपाध्याय) द्वारा तान्त्रिक विधिबाट गरिने उनले उल्लेख गरे ।
यसको प्रचार प्रसार र महत्वलाई बुझाउन २०७२ सालदेखि दश टोलका स्थानीय व्यक्तिहरू डा। गजानन्द राजोपाध्याय अशोक श्रेष्ठ, स्व। लक्ष्मीनारायण कपाली, माधव मुल्मी लगायतको अगुवाइमा समिति बनाएर पूर्णचण्डीबाट चक्रिय प्रणालीबाट पूजा शुरु भएको हो । २०७२ सालभन्दा पहिले यो पूजा पूर्णचण्डी (कमला) बाट मात्र गर्ने प्रचलन थियो भने एकपटक बंगलामुखीबाट गरिएको थियो ।
दशमहाविद्यामा काली, तारा, त्रिपुरसुन्दरी (षोडशी), भुवनेश्वरी, त्रिपुरभैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमला रहनु भएको छ ।
सबै सर्वसाधारणहरू सहभागी हुन पाइने यस पूजामा आफूलाई पायक पर्ने १४ भाग सामग्री ९फलफूल, रोटी, दक्षिणा, वा आफूलाई मनलागेको कुरा० चढाउन सकिने सापकोटाले बताए ।
यस पूजामा विशेष गरी पञ्च मकार राखेर पूजा हुन्छ भने, समयबजी विशेष रहनेछ । पञ्चमकारमा माछा, मासु, अण्डा, रक्सी, बारा, अदुवा, मिठाई, चिउरा, स्याबजी, साग, आलु, बोडी र कालो भटमास लाई मिलाएर राखिन्छ ।
श्रीदशमहाविद्या देवी को पूजा पहिले गोप्यरूपमा र विषेशगरी राजप्रासादसँग सम्बन्धित व्यक्तिहरूले गर्ने भएकाले यस बारेमा जनमानसलाई जानकारी थिएन । विशेष गरी राजश्रीलाई खुसी बनाई देशमा अनिकाल, भोकमारी, शत्रुसँग रक्षाको लागि गर्ने गरिएको थियो । मुख्यगरी निर्वाण प्राप्त गर्न सजिलो बाटो दशमहाविद्या रहेकोले तन्त्रमा यसको विशेष महत्त्व रहेको छ ।







प्रतिक्रिया