काठमाडौं । महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपाल र मलेसिया दुवैले २–२ को बराबरी कायम गरेका छन् । मलेसियामा आज सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १११ रनको योगफल तयार पारेको थियो । उसका लागि मास एलिसा अविजित रहँदै ५६ रनको योगदान दिइन् । माहिराले १८ रन र नुर दानियाले १५ रन जोडेका थिए ।
नेपालको बलिङतर्फ कविता कुँवरले ३ विकेट लिएर टोलीको विजयमा महत्वपूर्ण भूमिका निभाइन् । पूजा महतो र कविता जोशीले पनि समान एक–एक विकेट हात पारे ।
११२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै सहज रूपमा लक्ष्य पूरा गर्यो । कप्तान इन्दु बर्माले ३९ बलमा अविजित ४८ रनको शानदार प्रदर्शन गर्दै टोलीलाई जितसम्म पुर्याइन् । त्यस्तै रुबिना क्षेत्रीले २३ बलमा २३ रन बनाउँदै सहयोग गरिन् ।
मलेसियाको तर्फबाट नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक–एक विकेट हात पारे ।
अब दुवै टोलीबीचको निर्णायक तथा पाँचौँ खेल भोलि हुनेछ, जसले शृङ्खलाको विजेता टुंगो लगाउनेछ ।







प्रतिक्रिया