काठमाडौं। बागमती र मधेश प्रदेशका विभिन्न क्षेत्रमा भएको अविरल वर्षाले जलस्तर खतराको सीमा पार गरेको छ।
आज अपराह्न ४ बजेसम्मको रेकर्डअनुसार १० वटा स्थानमा वर्षाको मात्रा जोखिम स्तरमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्ला २४ घण्टामा सबैभन्दा धेरै वर्षा रौतहट जिल्लाको महेशपुरमा मापन गरिएको छ, जहाँ २७० मिलिमिटर वर्षा भएको छ। त्यस्तै गौरमा २४३.६ मिलिमिटर वर्षा भएको छ।
यसपछि पर्सा जिल्लामा उल्लेख्य वर्षा भएको छ। पर्साको मुडलीमा २३१.८ मिलिमिटर र वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ। बारामा कलैयामा २१०.६ मिलिमिटर र निजगढमा १५७.८ मिलिमिटर पानी परेको छ भने रौतहटकै गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद्हरूले आज राति पनि थप वर्षा हुने पूर्वानुमान गरेका छन्। उनीहरूले असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।








प्रतिक्रिया