काठमाडौं । देशभर निरन्तर वर्षाले उत्पन्न गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले दुई दिन अतिरिक्त सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा असोज १९ र २० गते सार्वजनिक बिदा रहने उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र आगामी २० गतेसम्म भारीदेखि अति भारी वर्षा जारी रहने अनुमान भएकाले बाढी, डुबान, भूक्षय, सडक तथा हवाई यातायात अवरुद्ध हुने खतरा बढेको छ ।
यस्ता सम्भावित जोखिमले जनधनको क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षाको दृष्टिले बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । दसैं बिदापछि कार्यालयहरू खुल्ने तयारी भइरहेका बेला सरकारले थप दुई दिन सार्वजनिक बिदा दिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, “असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालय बाहेक नेपालभरका सबै सरकारी कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ,” भनिएको छ ।
त्यसैगरी, सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सरकारी निर्देशनअनुसार आचरण गर्न आग्रह गरेको छ । साथै, सम्भावित बाढी, पहिरो र डुबानबाट जनजीवन सुरक्षित राख्न सबै तहका प्रशासनिक र सुरक्षात्मक निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।








प्रतिक्रिया