काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले, देशभर सामान्य बदलीको अवस्था कायम छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ।
देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यसैगरी मधेस र लुम्बिनी प्रदेशका तराई भागमा हावाहुरीको सम्भावना पनि छ।
आज राति पनि देशभर साधारण बदली रहने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भागहरूमा मध्यम वर्षा र चट्याङको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने भारी वर्षा हुन सक्ने देखिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भागहरूमा सम्भावित भारी वर्षाका कारण बाढी, पहिरोको जोखिम बढ्नसक्ने भएकाले सतर्कता आवश्यक छ।







प्रतिक्रिया