काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश भागमा आंशिकदेखि पूर्ण बदली देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबारको लागि मौसम पूर्वानुमान हेर्दा कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। यिनै क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि देखिएको छ।
त्यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन भनिएको छ। साथै, सबै प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने संकेत दिइएको छ।
मौसमी प्रभावका कारण केही नदीहरूमा पानीको सतह बढ्न सक्ने, आकस्मिक बाढी, भूक्षय, पहिरोजस्ता प्रकोपको सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने खतरा रहेको मौसम महाशाखाले जनाएको छ।
सुरक्षा र क्षति न्यूनीकरणका लागि समयमै आवश्यक सतर्कता अपनाउन महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ।







प्रतिक्रिया