२१ माघ २०८२, मंगलबार । February 4, 2026

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा



काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि चर्चा चल्दै आएको छ।

नेपालजस्तो कृषि प्रधान मुलुकमा कृषकहरूले भोग्दै आएका पुराना समस्याहरू—जस्तै बीउ, मल, सिँचाइ, रोगको पहिचान, मौसम पूर्वानुमान, बजार मूल्यको अनिश्चितता र उत्पादनपछि बिक्रीको व्यवस्था—आज पनि उस्तै छन्। सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम मार्फत विभिन्न कार्यक्रम ल्याएको भए पनि तिनको प्रभावकारी कार्यान्वयन र दीगो परिणाममा धेरैजसो कमी देखिएको छ। यस्ता चुनौतीपूर्ण पृष्ठभूमिमा, निजी क्षेत्रबाट केही युवाहरूले कृषि क्षेत्रमा डिजिटल माध्यममार्फत हस्तक्षेप गर्दै ‘कनेक्ट किसान’ नामक एप विकास गरेका छन्।

यो एपको परिकल्पना युवा उद्यमी राजन दाहाल र प्रविधिमा दक्ष सञ्जिता लामिछानेको सहकार्यमा गरिएको हो। उनीहरूको उद्देश्य एउटै थियो—कृषकका समस्या बुझ्ने, त्यसको व्यावहारिक समाधान निकाल्ने, र प्रविधिलाई खेतीसँग जोडेर दीगो परिणाम दिने। लामो अनुसन्धानपछि तयार गरिएको यो एपले कृषकको खेतदेखि बजारसम्मको सम्पूर्ण यात्रा समेट्ने प्रयास गरेको छ।

‘कनेक्ट किसान’ एपको मूलभावना हो । किसानलाई आत्मनिर्भर बनाउने, निर्णय क्षमता वृद्धि गर्ने, र उत्पादनको मूल्य सुनिश्चित गर्ने। एपमा माटो परीक्षणदेखि लिएर बीउको छनोट, रोगको पहिचान, मलखादको सल्लाह, मौसम पूर्वानुमान, कृषि उपकरणको प्रयोग, बजारको मूल्य र मागको जानकारीलगायत विभिन्न सेवा समेटिएका छन्। कृषकले खेतमै उभिएर आफूलाई आवश्यक सूचना पाउन सक्छन्। यही उद्देश्यले एपलाई प्रयोगमैत्री बनाइएको छ । संस्थापक सञ्जिता लामिछानेका अनुसार सामान्य मोबाइल चलाउन जान्ने जो–कोहीले सजिलै चलाउन सक्ने गरी यो एप निर्माण गरिएको छ ।

लामिछानेका अनुसार एपमा केवल सूचनामात्र छैन, सेवा पनि जोडिएको छ। उदाहरणका लागि, यदि किसानले आफ्नो उत्पादन बिक्री गर्न चाहन्छ भने, उसले एपमा जानकारी प्रविष्ट गर्न सक्छ। एपले सो उत्पादन खरिद गर्न इच्छुक थोक व्यापारीलाई सूचित गर्छ र दुबै पक्षलाई एउटै प्लेटफर्ममा जोड्छ। यस्तो व्यवस्थाले बिचौलियाको भूमिकालाई घटाउँदै किसान र उपभोक्ता दुवैलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

लामिछानेले भनिन्, “अझ उल्लेखनीय कुरा के छ भने, एपले वित्तीय पहुँचलाई समेत समेट्न थालेको छ। सहकारी संस्था तथा वित्तीय संस्थासँग सहकार्य गरेर, कृषकले एपमार्फत ऋणका लागि आवेदन दिन सक्ने, प्रारम्भिक मूल्याङ्कनको प्रक्रिया थाल्न सक्ने व्यवस्था बनाइएको छ। यसले कृषकलाई आवश्यक समयमा पूँजी जुटाउन सजिलो बनाउँछ।’’

हालसम्म एप काठमाडौँ उपत्यका, चितवन, मकवानपुर र झापा जिल्लामा प्रयोग गरिएको छ। प्रारम्भिक प्रयोगकर्ताहरूले एपको जानकारी उपयोगी र बुझ्न सजिलो भएको प्रतिक्रिया दिएका छन्। गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिकामा यो एप प्रयोग गरेर कफी, अदुवा, बेसार, अमला, फापर, र कोदो खेतीको व्यवस्थापन गरिएको छ। यस्तै, बेलकोटगढी नगरपालिकामा कफी, अकबरे खोर्सानी र बेसारको उत्पादनको बजार व्यवस्थापनका लागि प्रयोग भइरहेको लामिछानेले जानकारी दिइन् ।

एपको अर्को आकर्षण भनेको यसको स्थानीय सरकारसँगको सहकार्य मोडल हो। कुनै गाउँपालिका वा नगरपालिका इच्छुक भएमा, सो क्षेत्रका कृषकलाई एपमार्फत सेवा निःशुल्क उपलब्ध गराइन्छ। यद्यपि, यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहले कृषकलाई आवश्यक जानकारी दिने, तालिम प्रदान गर्ने र एपको उपयोगिताबारे बुझाउने जिम्मेवारी लिनुपर्छ। लामिछाने भन्छिन्, “कृषकसँग प्रविधिको पहुँच भए पनि बुझाइ नहुँदा सेवा लिन सक्दैनन्। त्यसैले एप प्रयोग गर्ने तरिका सिकाउने तालिम अत्यन्तै महत्त्वपूर्ण छ।”

नेपालको कृषि बजार प्रणाली अझैपनि असंगठित र तथ्यांकविहीन अवस्थामा छ। मुलुकमा कति कृषि उपज बजार सञ्चालनमा छन् भन्ने नै ठोस तथ्यांक संघीय सरकारसँग पनि छैन। यस्तो पृष्ठभूमिमा ‘कनेक्ट किसान’ जस्तो एपले कृषि बजार प्रणालीलाई पारदर्शी, सूचना–आधारित र डिजिटल बनाउनसक्ने सम्भावना बोकेको छ।

हालसम्म यो एप पाँच हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन्। विकासकर्ताहरूले सन् २०२६ भित्र एक लाख किसान, एक सय पचास स्थानीय तह, र तीन सय व्यापारीलाई प्लेटफर्ममा आबद्ध गराउने लक्ष्य लिएका छन्। भविष्यमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी किसानले मोबाइलमा देखिएका बालीनालीका रोगहरूको पहिचान गर्ने सुविधा पनि थप्ने तयारी भइरहेको लामिछाने बताउँछिन्।

नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अवधारणा शिक्षा, स्वास्थ्य र बैंकिङ क्षेत्रमा जति प्रभावकारी रूपमा लागू भयो, कृषि क्षेत्रमा भने त्यो गतिमा देखिएको छैन। यस्ता पहलहरूले कृषि क्षेत्रमा समेत डिजिटल परिवर्तनको अभ्यास शुरु भएको संकेत गर्छ। प्रविधिको प्रयोगबाट उत्पादकत्व, बजार पहुँच र आय वृद्धिको सम्भावना बढ्छ। सन्देश प्रस्ट छ—यदि कृषकको हातमा सही सूचना र उपकरण पुग्यो भने, नेपालका खेतबारीहरू समृद्धिको नयाँ कथा लेख्न सक्छन्।

‘कनेक्ट किसान’ एप केवल एउटा प्रविधि मात्र होइन, यो नेपालको कृषि प्रणालीमा दूरगामी प्रभाव पार्नसक्ने सम्भावना बोकेको एक प्रयास हो। जसले किसानको श्रमलाई सम्मान दिन्छ, प्रविधिलाई व्यवहारमा ल्याउँछ, र समृद्धिको आधार तयार गर्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल