झापा । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ ।
उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा पुरस्कार हात पारेको छ । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हराएको हो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले उपाधि उचालेको हो ।
खेलको २१ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समीर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । मैदानको मध्यभागबाट सिंगल खेल्दै गोलरक्षकको हातबाट फुत्किएको बललाई वान टचमा जाली चुमाए । ४३ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे ।
त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए । खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे ।
प्रतिक्रिया