२४ माघ २०८२, शुक्रबार । February 6, 2026

प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली



भक्तपुर । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् ।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि आज पूर्णिमासम्म भीमसेन गुठीका गायजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसंगै बिदाई गर्दथे । तर अहिले मल्लकालीन समयमा नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी यस्ता गीत एवं दाफा लोपोन्मुख अबस्थामा पुगेको छ ।

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई कमलपोखरीमा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेका घर र पसलहरुमा घुमाएर चिर स्वायगू गरेपछि यहाँ फागु सुरु हुने परम्परा रहँदै आएको छ । दत्तात्रयस्थित भीमसेन मन्दिरमा वर्षौंदेखि पुजारीका रुपका काम गर्दै आएकी केशरी कपालीले भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकका रुपमा मानिदै आएको परम्परालाई धान्दै आएकी छन् ।

उनका छोरा कमल कपालीले यसको पुरानो परम्पराहरुमध्ये धेरै लोप हुने अवस्थामा पुगेको बताउँछन् । उनले चार सय वर्ष पुरानो यो परम्परलाई धान्दै आएको बताउदै चिर स्वायगुको दिन काठबाट निर्मित भीमसेनको लिङ्गलाई काँधमा बोकेर कमलपोखरीमा लगेर सफा गरी बाजागाजाका साथ नगर परिक्रमा गर्दै मन्दिरमा ल्याएर झुण्ड्याउने गरिएको बताए । लिङ्गको एक सातासम्म पूजा गर्ने परम्परा रहेको भन्दै उनले सन्तान नभएकाहरुले यसको पूजा गरेर प्रसाद ग्रहण गरेपछि सन्तान सुख प्राप्त हुने र छोरा नहुनेको छोरा हुने विश्वास अहिले पनि रहेको उनि बताउँछन् । भजन गाउने भजन मण्डल नै कम भएपछि यो परम्परा पनि लोप हुने अवस्थामा पुगेको छ ।

यसरी घर पसल घुमाउँदा भक्तजनले स्पर्र्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदै गएको उनको भनाई छ । नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अर्थात लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा चार सय वर्ष अगाडिदेखि चल्दै आए पनि लिङ्गलाई काँधमा बोकेर घर, पसल डुलाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ ।

पसल र घर टोलमा डुलाएपछि त्यसलाई ढोगेर दक्षिणा दिदाँ सन्तान सुख प्राप्त हुने र पसलमा व्यापार व्यवसाय बढ्ने जनविश्वास रहेको उनको भनाइ छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रुपमा मनाइने यो पर्वमा यस्ता भजन एवं गीतहरु लोप हुने अवस्थामा पुगेको पूजारी कपाली बताउँछिन् ।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात अबिरको होली, रिसायौँ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्साएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने उहिल्यको प्रचलन अहिले लोप भइसकेको भीमसेन मन्दिरमा वर्षौदेखि पूजारीको रुपका कार्यरत केहरी कपाली बताउँछन् ।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ । सात दिनसम्म स्थानीयले लिङ्ग र योनीको पूजा एवं दर्शन गर्ने गरेका छन् । काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनि आकारको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ । भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएका छन् ।

पाटीमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्छ, यसलाई यौन समागमको रुपमा लिइन्छ । विगतमा भीमसेन पाटीको बाहिर नै झुण्ड्याउने परम्परा रहे पनि यहाँबाट महिलाहरुलाई आवतजावत गर्न अप्ठ्यारो भएको गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलाको भीमसेन मन्दरमा झुण्ड्याउने गरेको कपाली बताउँछन् । यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने र द्रौपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने र दक्षिणा चढाउने गर्छन् । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ भने कपासलाई बीर्यको प्रतिको रूपमा लिइन्छ ।

यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास रहेको उनि बताउँछिन् । भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वको रुपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन् । उनि भन्छन्, “यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ ।” बर्षौँ देखि यहाँ प्रेम र यौनको प्रतीकका रुपमा होली पर्व मनाउँदै आएको उनि बताउँछन् ।

डा श्रेष्ठ भन्छन्, “भीमसेन भैरव हो, भैरव महादेव हो, द्रौपदी भैरवी हो, अर्थात् पार्वती, द्रौपदीका पाँच पति भनेर नकारात्मक सन्देश प्रवाह गरिन्छ, वास्तवमा पूर्वजन्ममा द्रौपदीको विवाह नै नभई मृत्यु भयो, अर्को जुनीमा उनले महादेवको तपस्या गरी पति माग गरेपछि महादेवले पाँच पटक तथास्तु भनेर वरदान दिएपछि पाँच पाण्डव उनको पति भए, त्यो पनि महादेवकै लीला हो, यसमा तान्त्रिक शक्ति छ, गलत अर्थ लगाउनुहुन्न ।” मन्दिरमा झुड्याइएको काठको लिङ्ग भीमसेनको प्रतीकको रुपमा रहेको बताउदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए ।

यो पुरुष शक्तिको प्रतीकको रुपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार यो वर्षौंदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर बलात्कारीको लिङ्ग भनेर गलत अर्थ लगाएर इतिहास, धर्म र संस्कृति मास्न खोज्नु गलत भएको उनको भनाइ छ । धार्मिक र इतिहासका प्रत्येक प्रमाणले यो बलात्कारीको लिङ्ग होइन, भीमसेनको प्रतीकका रुपमा राखिएको हो भन्ने पुष्टि गर्ने आधार धेरै रहेको भन्दै उनले बर्षौँ देखिको मान्यतालाई मास्ने प्रयास गर्न नहुने बताए ।

साङ्केतिकरुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषतः भक्तपुरमा भीमसेन र द्रौपदीको यौन समागमसँग सम्बन्धित रहेको उनको भनाइ छ । चिर स्वायगू अर्थात लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होलीभरि शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँका केही व्यक्तिले धार्मिक आस्थामै ठेस पुग्ने गरी हचुवाका भरमा बलात्कारीको लिङ्ग भनेर प्रचार गर्नु, धर्म संस्कृति र परम्परा मास्न खोज्नु गलत भएको इतिहास एवं संस्कृतिविद् डा श्रेष्ठ बताउँछन् ।

पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वासकै आधारमा झुण्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन् । आज फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा खनेको खाडलमा लगेर चोपल्ने र पखालेर पुनः मन्दिरमा राखेपछि यस वर्षकोे होली समाप्त हुने मान्यता छ ।

मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेको सन्तान नहुने र छोरा नहुने पुरुष हरेक वर्ष लिङ्ग बोकेर खोलामा लैजान पालो कुरेर बस्ने गरेको पुजारी कपाली बताउँछन् । वसन्तऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ । वसन्त ऋतुमा मानिसको मात्रै नभई चराचुरुङ्गी र पशुपक्षीमा पनि कामवासना हुन्छ भन्ने विश्वास रहेको पाइन्छ ।

नेपाल भाषाका पत्रकार एवं स्थानीय अध्यता कृष्ण प्रजापतिले भीमसेनको मन्दिर चार सय वर्ष पुरानो रहेको भन्दै उनले यो परम्परा पनि चार सय वर्ष पुरानो रहेको बताए । भक्तपुरमा साक्षात दोलखा भीमसेनका रुपमा मानिँदै आएको पश्चिमतर्फ फर्केको परदेशी भीमसेनमा रातभरि जाग्राम बसेर बोला बली दिइ भोज गर्ने र रातभरि भजन गाएर धुनी जगाएर बस्ने परम्परा अहिले पनि रहेको छ ।

यहाँका गुठीहरुले यो परम्पराअनुसार आज होलीको दिन भीमसेनको लिङ्गको प्रतीकलाई पूजा गर्ने र द्रौपदीको योनी अर्थात् चिरलाई दहीको टीका लगाएर खटमा राखेर टोलमा घुमाउने गर्दछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल