३ आश्विन २०८३, शनिबार । September 19, 2026

शनिबार बिशेष

पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण गरिँदै


१३ श्रावण २०८०, शनिबार  

6
Shares

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ ।

एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरक्षण थालिएको हो । विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरी र किरातेश्वर ढुङ्गे बगैँचालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्यका साथ संरक्षण गर्न थालिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए ।

यस वर्ष केन्द्र सरकारअन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि रू २० लाखका दरले बजेट विनियोजन भएको उहाँले जानकारी दिए । “पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पोखरीको संरक्षण गरिरहेका छौँ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “यस क्षेत्रको विकासका लागि केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माणमा सहयोग पुग्नेछ ।”

पोखरीको ऐतिहासिकस्वरुपलाई यथावत राख्दै नयाँ संरचना निर्माण गरिने उनको भनाइ छ । पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाइएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । “यो क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकासका लागि काम गरिरहेका छौँ”, उनले भने, “किरातेश्वर ढुङ्गे बगैँचा गुफाको संरक्षणका लागि यस वर्ष काम गर्ने योजना छ ।

यहाँ आउने पर्यटकले दुई स्थानको एकैसाथ अवलोकन गरेर आनन्द लिन सकुन् भन्ने हाम्रो लक्ष्य छ ।” बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बाबुराम शाक्यले बताए । यहाँको पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको उनको भनाइ छ ।

“पाँचधारे एक ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल हो”, शाक्यले भन्नुभयो, “यहाँ दर्शन गरे चिताएको पुग्ने धार्मिक विश्वास छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके आर्थिक उपार्जन बढ्ने देखिन्छ ।” उनका अनुसार यस पोखरीमा किरात समुदायका वान्तावा माङ्गपाहाङ्ग राईहरुले वंशावली भेला भएर पूजाआजा गर्ने गर्दछन् । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको स्थानीय जानकार अधिराज राईले बताए ।

यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको उनको भनाइ थियो । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् । “किरातमा यो पोखरीप्रति आस्था छ”, राईले भने, “स्थानीय सरकारको पहलमा संरक्षण भएपछि हामीमा उत्साह थपिएको छ । पोखरीको अवलोकन तथा दर्शन गर्न विभिन्न ठाउँबाट मानिस यहाँ आउने गरेका छन् ।”

विगतमा यस पोखरीको नाममा टेम्केमैयुङ–५ खावा केराबारीमा ८० मुरी धान फल्ने गुठी रहे पनि अहिले त्यो हराएको उनले जानकारी दिए । पोखरीको गुठीका रुपमा रहेको जग्गा खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने स्थानीय टङ्क घिमिरेले बताए । सरकारको एक सय घुम्नैपर्ने गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकामा रहेकाले यसले पनि पर्यटकको आवागमनमा थप टेवा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए ।

पालिकाले पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ । “यहाँका पर्यटकीय क्षेत्रको विकास गर्दै गाउँपालिकाको आयवृद्धि गर्ने योजनाका साथ काम गरिरहेको छौँ”, प्रशासकीय अधिकृत न्यौपानेले भने, “पर्यटकीय क्षेत्रको विकासले स्थानीयको सहज जीवनयापनमासमेत टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो । यस्ता ठाउँको संरक्षणसँगै प्रचारप्रसारमा पनि ध्यान दिएका छौँ ।”

टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीयस्थल रहेकाले त्यस्ता क्षेत्रको संरक्षण गर्दै विकासमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । “हाम्रो गाउँपालिका प्राकृतिक स्रोतसाधनको क्षेत्रबाट निकै धनी छ”, उनले भने, “भौगोलिकरुपमा ठूलो रहेकाले सबै ठाउँमा सोचेअनुसार बजेट विनियोजन गर्न सकिएको छैन । प्रदेश र केन्द्र सरकारसँग योजना माग गरेर पर्यटकीय महत्व भएका क्षेत्रको विकासमा जुटेका छौँ ।”

पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । “पर्यटन क्षेत्रका साथै पालिकाभित्र रहेका सबै सम्भावित क्षेत्रको योजनाबद्धरुपमा विकास थालनी गरेका छौँ”, उनले भने, “पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रशस्त हरियाली चरन क्षेत्र छन् ।

यस्ता ठाउँको स्तरोन्नति गर्दै स्थानीयलाई कृषि तथा पशुपालनमा जोड्ने योजना छ ।”

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ३ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ