भर्जिनिया (अमेरिका) । नेपाली मिडियामा उल्लेखनीय योगदान पुर्याउँदै देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन भूमिका खेलेका अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड प्रदान गरिने भएको छ।
अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स एलएलसीले बस्नेतलाई यो वर्षको मिडिया लिडरको रूपमा सम्मानित गर्ने घोषणा गरेको हो। कम्पनीका अध्यक्ष एड्रियन पोखरेलले एक भिडियो सन्देशमार्फत यो घोषणा सार्वजनिक गरेका हुन्, जुन कम्पनीको आधिकारिक फेसबुक पेज र ‘नमस्ते अमेरिका’ कार्यक्रममार्फत प्रसारण गरिएको थियो।
अध्यक्ष पोखरेलका अनुसार, “मनोज बस्नेतले नेपाली सञ्चार क्षेत्रमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रेरणादायी नेतृत्व प्रस्तुत गर्नुभएको छ। सत्य, नवीनता र जनसेवाको मर्मलाई आत्मसात गर्दै उहाँले नयाँ पुस्तालाई सही दिशामा अगाडि बढ्न प्रेरणा दिनुभएको छ।”
उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्कले प्रेस स्वतन्त्रताको रक्षाका साथै पीडितहरूको आवाज उठाउने र नयाँ पत्रकार पुस्तालाई हौसला दिने काम गरेको भन्दै प्रशंसा गरिएको छ। पोखरेलले भनेका छन्, “गाह्रो परिस्थितिमा पनि सत्यको पक्षमा अडिग रहन सक्ने, आशा दिने र मानवीय दृष्टिकोणसहित नेतृत्व गर्ने उहाँको गुणले यस सम्मानका लागि योग्य बनाएको हो।”
भिडियो सन्देशमा भनिएको छ, “मनोज, तपाईंको नेतृत्व, सत्यप्रतिको अडान र दूरदर्शी सोचप्रति हामी गहिरो सम्मान व्यक्त गर्छौं। तपाईंले देखाएको बाटोले अहिलेका मात्र होइन, भविष्यका पत्रकारहरूलाई पनि प्रेरणा दिनेछ।”
बाईस्ट्रिम्स एलएलसीले प्रत्येक वर्ष विश्वभरिका प्रभावशाली मिडिया व्यक्तित्वहरूलाई यो अवार्ड प्रदान गर्दै आएको छ।







प्रतिक्रिया