काठमाडौं । देशभर हाल मनसुनी वायुले प्रभाव जमाइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानको आसपास र पूर्वतर्फ औसतभन्दा अलिकति उत्तरतिर रहेको छ, जसले देशभर मौसमी प्रभाव पुर्याइरहेको छ। आज दिउँसो देशभर आकाश आंशिकदेखि पूर्ण रूपले बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागहरूमा कतै कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तीमध्ये केही स्थानमा भने भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ। यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही भागहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।
रातिको समय देशभर सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। तीमध्ये कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
त्यस्तै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही भागहरूमा हुरीबतास चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।







प्रतिक्रिया