काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि हात पारेर नेपाली क्रिकेट टोली आइतबार साँझ स्वदेश फर्किएको छ।
विजयी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले स्वागत गरे। शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले उपाधि उचालेको थियो। प्रतियोगिताभर अपराजित रहँदै नेपालले विजयी अभियान पूरा गरेको हो।
नेपालले यसअघि सन् २०२३ मा भएको यू-१६ इस्ट जोन कपको पनि उपाधि जितेको थियो। त्यसैगरी, एसीसीले यसअघि “यू-१६ इस्टर्न रिजन” शीर्षकमा आयोजना गर्दै आएको संस्करणमा नेपालले सन् २०१७ र २०१९ मा लगातार उपाधि चुमेको थियो।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको यू-१६ टोलीले फेरि एकपटक नेपाली क्रिकेटको भविष्य उज्यालो रहेको सन्देश दिएको छ।
प्रतिक्रिया