एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।
पहिलो सेमिफाइनल खेलमा आज सर्वाधिक ६ पटकको विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । साबिक विजेता अस्ट्रेलिया सातौँपटक उपाधि जित्ने लक्ष्यामा छ । यसअघि टोलीले सन् २०१०, २०१२, २०१४, १०१८, २०२० र २०२३ मा उपाधि जितेको थियो । त्यसबाहेक पहिलो संस्करण इंग्ल्यान्ड र पाँचौँ संस्करण वेस्ट इन्डिजले जितेका छन् ।
विश्वकपको हरेक संस्करणमा अस्ट्रेलियाको दबदबा रहँदै आएको छ । उसले ४८ मध्ये ३९ खेल जितेको छ भने आठ खेलमा पराजित भएको छ । एक खेल टाई भएको छ । यता, दक्षिण अफ्रिकाको इतिहास भने खासै गतिलो छैन । टोली सन् २०२३ मा मात्रै फाइनलमा पुगेको छ । निर्णायक खेलमा टोली अस्ट्रेलियासँग १९ रनले चुकेको थियो ।
दक्षिण अफ्रिकाले विश्वकपमा ३७ खेल खेल्दा १७ खेल जितेको छ भने २० खेल गुमाएको छ । यद्यपि, टोली पछिल्लो पाँचमध्ये चार खेलमा जित निकाल्न सफल भएको छ ।
प्रतिक्रिया