८ मंसिर २०८१, शनिबार । November 23, 2024

‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’



कैलाली । लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् ।

विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए ।

“विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उनले भने, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।” बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पुर्याएको छ । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए । जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए । “भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन”, उनले भने, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ । मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।”

नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताए । भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन् । बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमालाले बताए । “खाद्यान्न, लुगाकपडा, वस्तुभाउ पनि सडकमा छन्, वस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला ?”, उनि भन्छन्, “मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ ।

त्यसैमाथि सडक सहारा भएको छ ।” यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ । वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ । टीकापुरमा बाढीले एक सय ७४ परिवार विस्थापित भएका छन् । टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए ।

“मोहनाको पानी बस्तीमा पसेपछि वडा नं ६ मा ठूलो क्षति भएको छ, हामीले प्रहरीको सहायतामा ट्युबमा सरसामान र मानिसलाई उद्धार गर्यौँ, पूर्वतयारीमा काम गरिरहेकाले समयमै उद्धार सम्भव भयो”, उनले भने, “अहिले पनि बस्ती जलमग्न छ । डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन ।” टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताए । डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ ।

सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुर्खेतको पञ्चपुरीमा जिप दुर्घटना,१४ जना घाइते

सुर्खेत । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४

मेयर बालेन एमालेविरुद्ध परिचालित व्यक्ति हुन्ः एमाले महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर

अमेरिकी डलर, युरो र स्टर्लिङ पाउन्डको मूल्य घट्यो, कुवेती दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज (शनिबार) अमेरिकी डलर

आजको मौसमः काठमाडौंको तापक्रम घट्दो, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश भेगको मौसम सफा रहेको छ ।

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ