रविलाई गगनको दनक
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछाने संसदीय छानबिनका लागि तयार नहुँदा अचम्म लागेको टिप्पणी गरेका छन् । शनिवार कांग्रेस पदाधिकारी बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले लामिछानेमाथि अहिलेसम्म आएको तथ्य प्रमाणका आधारमा छानबिन गर्ने बताए । उनले विगतमा जनार्दन शर्मा, भरतमोहन अधिकारी, रामशरण महत प्रश्न उठेपछि छानबिन समिति बनाउन तयार भएको तर रवि लामिछाने तयार नभएकोमा आश्चर्य लागेको बताएका हुन् ।
गगनलाई गृहमन्त्री लामिछानेको चुनौती
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन् भएको बताएका छन् । साथै उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्ने बताए । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।
कांग्रेसलाई ओलीको झटारो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाए । कांग्रेसले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएको विषय उठाउँदै ओलीले आफू आरोप लगाउने तर आरोपको खण्डन गर्न नदिनु लोकतन्त्र नभएको समेत बताएका छन् ।
प्रधानमन्त्रीमाथि गृहमन्त्रीको यस्तो गम्भिर आरोप
गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवनमा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । गृहमन्त्री लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको बताए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीबी राईको नाम जोडिएको छ ।
जीबी राई भगाएको बिषयमा प्रधानमन्त्रीको जवाफ माग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणका आरोपित जीबी राई भगाएको आरोपको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने बताएका छन् । शनिबार चितवनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएका थिए । शनिबार कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताएका हुन् ।
गोविन्द केसीले फेरी सुरु गरे अनशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा.गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् । केसीले ३ बुँदे माग राखेर पशुपति क्षेत्रमा अनशन सुरु गरेका छन् ।
सत्तारुढ दलहरुले आफ्नो पार्टी फुटाएको उपेन्द्रको आरोप
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारी दलहरूले फुटाएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले एमाले र माओवादी केन्द्रको नाम नलिई सो प्रतिक्रिया दिएका हुन् । शनिबार जनकपुर पुगेका अध्यक्ष यादवले पत्रकारहरूसँगको कुराकानीमा दुई चार जना लोभी पापीले पार्टी फुटाएको आरोप लगाएका हुन् । उनले कुकुरले टोक्यो भने त्यही कुकुरलाई आफूहरू टोक्न नजाने टिप्पणी समेत गरेका छन् ।
विकासमा राजनीति नगर्न मन्त्री महासेठको आग्रह
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने समेत बताएका थिए ।
प्रतिक्रिया