१८ असार २०८३, बिहिबार । July 2, 2026

वैशाख १६ गते आइतबार दिनभर के–के भयो ?

दोस्रो खेलमा हार्‍यो नेपाल ! उल्झनमा सन्दीप विरुद्धकोे मुद्दा ! धर्मको खोल ओडेर अपराध ! लगानी सम्मेलनको उत्साह ! बन्यो एनएसीको विमान ! उपनिर्वाचनको मत परिणाम…


१६ बैशाख २०८१, आइतबार  

231
Shares

१.दोस्रो खेलमा हार्‍यो नेपाल
मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट रहँदै ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का हानेका थिए । त्यस्तै गुल्सन झाले २६ तथा लोकेश बमले १७ रन बनाए । आरिफ शेखले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

२.उल्झनमा सन्दीप विरुद्धकोे मुद्दा
क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कारसम्बन्धी मुद्दा अर्को हप्ता प्राथमिकताका साथ पेशीमा राखिने भएको छ । आइतबार समय अभावले हेर्न नभ्याइने भएपछि अर्को हप्ता सुनुवाइ हुने भएको हो । अर्को पेशी वैशाख २३ गतेका लागि तोकिएको छ । काठमाडों जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

३.धर्मको खोल ओडेर अपराध !
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रत्यर्थी (प्रतिवादी) झिकाउने आदेश दिएको हो । जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो । ४ कात्तिक २०७६ राति साढे १२ बजे सुनसरीको चतरास्थित आश्रममा गिरीले आफूलाई जबर्जस्ती करणी गरेको दाबीसहित एक अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

४.लगानी सम्मेलनको उत्साह
तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमै दुई सम्झौता भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले हस्ताक्षर गरेका थिए । यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी गु्रप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ ।

५.नेपाल लगानीको उत्कृष्ट गन्तव्य
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । आइतबारदेखि सुरु भएको इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।

६.नेपालमा लगानीका लागि सवै क्षेत्र खुला छन्ः देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हन् ।

७.लगानी सम्मेलनमा प्रधानमन्त्रीको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताएका छन् । तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताएका हुन् । साथै उनले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानी सम्झौता (बीआईए) मा हस्ताक्षर गर्न समेत आह्वान गरेका छन् ।

८.लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । सरकारले ९ वटा ऐन संशोधनका लागि गरेको सिफरिसलाई संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ अध्यादेशमार्फत संशोधन गर्ने तयारी गरेको छ ।

९.चन्द्र ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । तेस्रो लगानी सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए । विश्वका ठूला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने उनको भनाई थियो ।

१०.अर्थमन्त्री भन्छन्ः नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य
अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । लगानी सम्मेलनको उदघाटन कार्यक्रममा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताएका हुन् । सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उनको भनाइ थियो ।

११.बन्यो नेपाल एयरलाइन्सको विमान
नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज नाइनएन–एकेएक्स जहाज इजरायलबाट काठमाडौं ल्याइएको छ । इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता इजरायलमा थियो । त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड रहेको यो जहाजलाई लामो समय उडानयोग्य बनाउन नसक्दा राष्ट्रिय ध्वजाबाहक नेवानिले करोडौं आर्थिक क्षति बेहोर्नु परेको थियो । इन्जिनभित्रका ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने भएको र यसका पार्टपुर्जाको अभावले मर्मतमा ढिला भएको तर्क निगमले गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर