१. कतारका राजा काठमाडौंमा
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी १ सय ५० जनाको भ्रमण दलसहित नेपाल आएका छन् । दुई दिने राजकीय भ्रमणमा उनी मंगलबार दिउँसो ३ बजे ३५ मिनेटको समयमा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका थिए ।
२. राजा थानी र राष्ट्रपति पौडेलबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबिच राष्ट्रपति भवन शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ । यस्तै भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
३. सहकारी पीडितलाई रविको आश्वासन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितको रकम फिर्ता गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचारका लागि इलाममा रहेका गृहमन्त्री लामिछानेले सदन बस्न नसक्ने अवस्था भए अध्यादेशमार्फत भए पनि कानुन बनाएर पैसा फिर्ताको वातावरण निर्माण गर्ने बताएका हुन् । गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर पीडितको रकम फिर्ता गरिने भन्दै कानुनले अप्ठ्यारो परेकाले सहकारीको सम्पत्ति जफत गर्न समस्या भएको बताए ।
४. पहिचानको मुद्दामा राजनीतिक खिचातानी
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टी सधैं पहिचान र प्रतिनिधित्वको पक्षमा रहेको बताएका छन् । मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताएका हुन् । नेता कोइरालाले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध समेत गरेका छन् ।
५. अदालतमा पोखिएको रेशम–रञ्जिता घरझगडा
नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न नसक्ने जिकिर गरेकी छन् । पार्टी विधानमा ‘जेलमा गएर सदस्यता दिने अवस्था नरहेको’ भन्दै उनले रेशम चौधरीलाई पार्टीबाट सदस्य नबनाइएको दाबी अध्यक्ष श्रेष्ठको छ । आफू विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा लिखित जवाफ पेस गर्दै श्रेष्ठले पार्टीको विधानमा ‘नैतिक पतन देखिने अभियोगमा दोषी ठहर भएको व्यक्ति पार्टीको सदस्य हुन नसक्ने’ व्यवस्था रहेको भन्दै रेशम चौधरीलाई पनि नागरिक उन्मुक्ति पार्टीको सदस्य बन्ने सुविधा नभएको दाबी उनले गरेकी छन् ।
६. निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन् । आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले प्रोत्साहन गर्ने नीति लिंदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।
७.सबैको सहमतिबाटै अध्यादेश ल्याइएको अर्थमन्त्रीको जिकिर
अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिका आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डले सोमबार गरेको प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अध्यादेशमा कसैको विमति नरहेको दाबी गरेका हुन् । मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
८. फिल्ममा केपी ओलीको अभिनय
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को छायांकन सुरु गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा उनले फिल्मको सुटिङ सुरु गरेका हुन् । निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो गरेर उनले फिल्मको छायांकन सुरु गरेका हुन् । फिल्ममा उनको प्रधानमन्त्रीको भूमिका रहेको छ ।
प्रतिक्रिया