१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले


९ बैशाख २०८१, आइतबार  

9
Shares

गुल्मी । गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौँको क्षति भएको छ ।

सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् । शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए । बस्तीमा आगो प्रवेश गरेपछि इस्मा सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए ।

स्थानीयवासीलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो । इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका– २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा १३ घर र २६ बङ्गला जलेर नष्ट भएका छन । त्यसैगरी इस्मा गाउँपालिका–४ को तिम्लेखर्कमा सात घर र १६ वटा बङ्गला र गोठसहित एउटा मन्दिर जलेको छ ।

सोही वडाको भड्किनामा एक घर र चारवटा बङ्गाला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिनुभयो । आगलागीका कारण ४० भन्दा बढी चौपाया जलेर मरेका छन् । इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण ट्र्याक्टर चालक स्थानीयवासी १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ ।

घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शङ्करप्रसाद पोख्रेलले बताए । अगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

इस्मा गाउँपालिका र नेपाल रेडक्रसको सहयोगमा पीडित परिवारलाई तत्कालका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, किट, लाइट, पानी, चाउचाउ तथा भाँडाकुँडा लगायतका सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए । आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ । इस्माको हुल र कोटकोटेरी दुई स्थानमा डढेलो लागेको छ ।

हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बङ्गालो, सूर्य र गुञ्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन् । एक भैसी र नौ बाख्रा मरेका छन् । इस्मा गाउँपालिका–४ कै कोटकोटेरीमा जङ्गलको डढेलो बस्ती पसेपछि स्थानीयवासी ऋषिराम खनाल, बलबहादुर दर्जी, सरिता अधिकारी, ज्ञानु अधिकारी, बिमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकको घर र खगेश्वर विकको बङ्गाला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गाउँमा पाइप जलेपछि खानेपानीको अभाव भएको छ । शुक्रबार र शनिबार गरी इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरु लगायतका क्षेत्रमा डढेलो लागेको थियो । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि लागेको डढेलो अझै निभेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था