१. एसीसी प्रिमियर कपः लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा
ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको उत्कृष्ट ब्याटिङ प्रर्दशन सँगै ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जीत निकालेको छ । सोमबार हङकङ विरुद्ध भएको आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको हो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यो सँगै नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल लागि ओपर आशिफ शेखले सर्वाधिक ४० रन जोड्न सफल भएका थिए । उनले १७ बलमा ४० रन जोडेका थिए भने अर्का ओपनर कुशल भुर्तेलले १८ बल खेल्दै ३२ रनको योगदान गरेका थिए । बलिङतर्फ नेपालका लागि नेपालका लागि दिपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान ३/३ विकेट लिएका थिए । यस्तै ललित राजवंशीले २ विकेट लिएका थिए भने करण केसी र गुल्शन झाले समान १/१ विकेटको योगदान गरेका थिए ।
२. टी–२० अन्तर्राष्ट्रियमा आसिफ शेखको हजार रन
नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पुरा गरेका छन् । उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार हङकङ विरुद्ध भएको खेलमा ४० रन जोड्दै टी–२० आई क्रिकेटमा हजार रन पुरा गरेका हुन् । यसअघि उनले टी–२० आई क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए । उनलाई हजार रन पुरा गर्न ३२ रनको आवश्यक्ता रहेको थियो । त्यो उनले सोमबारको खेलमा पुरा गरेका छन् ।
३. प्रधानमन्त्रीलाई सुरुङभित्रै रातो कार्पेट र सोफा
नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङमार्ग ब्रेक थ्रु गरेका हुन् । यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ । ब्रेक थु्रको उद्घाटन गर्न सुरुङमार्ग पुगेका प्रधानमन्त्री प्रचण्डलाई सुरुङ भित्रै पनि रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । साथै सोफामा बस्ने व्यवस्था समेत मिलाइएको थियो ।
४.बोधितित्तको रुख काट्ने ४ जना पक्राउ
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका छन् । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।
५.माधव नेपालसँग फेरी बिच्किए ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीको चर्को आलोचना गरेका छन् । यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको उनको दाबी छ । आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको उनको आरोप छ ।
६.आन्दोलनमा घाइते राप्रपा नेता डाँगीको मृत्यु
गएको चैत्र २७ गते राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान चार बजे मृत्यु भएको हो । डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
७. नेपाल एयरलाइन्सले तिर्यो चैत्र महिनाको ५३ करोड किस्ता
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रकम भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजकोे आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो ।
प्रतिक्रिया