१. सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा
नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सुदूपश्चिम प्रदेश सरकार गठनमा अन्योलता देखिएको छ । नाउपाका लक्ष्मणकिशोर चौधरी र नउपाकै कैलाश चौधरीले छुट्टछुट्टै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । एकै पार्टीका दुई सांसदले दाबी पेश गरेपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् । लक्ष्मणले नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ सांसदको समर्थनमा दाबी पेश गरेका थिए भने कैलाशले एमालेका १०, माओवादी केन्द्रका ११ सांसदको समर्थनमा आफ्नो दाबी पेश गरेका थिए ।
२. अनिल कपुरको बाटोमा गृहमन्त्री रवि लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन् । काठमाडौंमा ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै लामिछानेले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् । साथै उनले सार्वजनिक यातायात सुधार गर्न पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
३.कांग्रेसमाथि एमाले अध्यक्ष ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आइतबार रातिदेखि अन्त्य हुनु स्वाभाविक भएको बताएका हुन् । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बिचमा कम्तीमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको बताए ।
४. सहकारी ठगी प्रकरणः जीबी सहित २८ जना प्रतिवादी
बुटवलस्थित सुप्रिम बचत तथा श्रृण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीले जनाएको छ । प्रतिवेदनमा ग्यालेक्सी टेलिभिजनका सञ्चालक अध्यक्ष समेत रहेको गितेन्द्रबाबू राई (जीबी) सहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने उल्लेख छ । जसमा १ अर्ब २ करोड मागदाबी लिनुपर्ने राय प्रतिवेदनमा दिइएको छ । सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।
५. सबैलाई मिलाएर लैजाने नेतृत्वको खोजी…
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्न र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको समेत बताएका थिए ।
६. २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् । आइतबार आफ्नो फेसबुक पेजमार्फत नयाँ बर्षमा २०८१ जनालई सीपमूलक तालिम दिने घोषणा गरेका हुन् । रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौंको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन आग्रह गरिएको छ ।
७. विगतका अधिवेशनभन्दा हिउँदे अधिवेशन उपलब्धिपूर्ण भएको सभामुखको ठहर
सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखारित गर्ने कार्य पर्याप्त नभएको बताएका छन् । हिउँदे अधिवेशनमा कानून निर्णय र जनताका मुद्दालाई सम्बोधन गर्ने बिषयमा विगतका दुई अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धिपूर्ण रहेको भएपनि यतिमात्रै पर्याप्त नभएको सभामुख घिमिरेले स्वीकार गरेका छन् । उनले राजनीतिक दलहरूबिचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरू अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास समेत व्यक्त गरे ।
८. चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिना रहेका छन् ।
९. भ्रष्टाचार अभियोगमा कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ । आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनीयर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको बिगो माग दाबी गरेको छ ।
प्रतिक्रिया