२८ मंसिर २०८२, शनिबार । December 13, 2025

को हुन् नवनिर्वाचित राष्ट्रपति पौडेल ?



काठमाडौं । देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ ।

राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन् । ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् । बिहीबार भएको निर्वाचनमा संघीय सांसदतर्फबाट १९ जना र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित भएका थिए । राष्ट्रपति निर्वाचनमा कुल ८८२ मतदाता छन् । तर, मतदानमा भने ८३१ मत खसेको थियो । निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।

को हुन् नवनिर्वाचित राष्ट्रपति पौडेल ?

२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा तनहुँको व्यास नगरपालिका– ८ स्थिति मिलुङ, बाहुन पोखरामा जन्मिएका पौडेल हाल श्रीमति सवितासहित चार छोरी र एक छोरासँग काठमाडौँ महानगरपालिका– १६ बोहोराटारमा बस्छन् । मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । १५ वर्षको कलिलो उमेरदेखि नै राजनीतिमा लागेका उनी यसै क्षेत्रमा पाँच दशक बढीसमय विताइसकेका छन् ।

राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशित बन्दै उनी नेबिसंघको राजनितीमा होमिएका थिए । त्यसपछि उनी राजनीतिभन्दा बाहिर निस्कन सकेनन् । भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको शसस्त्र संघर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौंबाट गिरफ्तार भई पहिलो पटक १ महिना हिरासत सजाय पाएका पौडेलले २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ताका रुपमा सक्रियता जनाएका थिए ।

उनी २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भए । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचित भए । २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य समेत बने ।

२०४० मा पार्टीले केन्द्रीय प्रचार समिति संयोजक बनायो । त्यसपछि उनी २०४४ सालमा केन्द्रीय सदस्य बने । पौडेलको संसद् यात्रा २०४८ को निर्वाचन तनहुँ १ बाट जितेपछि सुरु भयो । त्यसपछि स्थानीय विकासमन्त्री बने । कृषिमन्त्री पनि भए । २०५१ को मध्यावधि चुनावमा तनहुँ-२ बाटै निर्वाचित भए । २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने ।

उनी २०५६ सालमा तनहुँ-२ बाट तेस्रो पटक निर्वाचित भए। २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । २०५९ मा शान्तिमन्त्री बने । त्यसपछि २०६२ सालमा कांग्रेस महामन्त्री समेत बने । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी शान्ति सचिवालय संयोजक बने । २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री भए । २०६४ सालमा उनी कांग्रेस उपसभापति भए ।

सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ-२ बाट निर्वाचित भए । २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने । तर, प्रधानमन्त्री बन्ने पौडेलको उत्कट चाहना १७ पटकको प्रयासमा पनि असफल रह्यो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालीन एमाओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्‍मा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो र अर्को चरणमा झलनाथले बाजी मार्दा रामचन्द्रको प्रतिस्पर्धा खेर गयो । जसलाई उनको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा लिन सकिन्छ । त्यसपछि उनले २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ-२ बाट जिते ।

२०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए । सोही वर्ष भएको पार्टीको १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भए । यता, कांग्रेसमा पौडेल वरिष्ठ नेताको जिम्मेवारीमा रहे ।गत वर्षसम्म १४औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने चर्चा चले पनि उनी अन्तिममा ‘रिङआट’ भए, जसको परिणामस्वरूप देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सहज बन्यो र पार्टीको वरिष्ठ नेतामा पौडेलको निरन्तरता कायमै भयो ।

लामो राजनीतिक जीवनमा पौडेलले करिब १५ वर्ष जेलमा बिताएका छन् । सो क्रममा उनलाई रमाइलो झोडा काण्डको विरोध गरी कीर्तिपुर विश्वविद्यालयमा कार्यक्रम गर्दा गिरफ्तार गरी २०२८ बाट २०३२ सम्म निरन्तर ४ वर्ष जेलबन्दी जीवनमा राखिएको थियो भने हिरासतमा कैयौँपटक पुगेका छन् । यसै वर्ष सम्पन्न निर्वाचनमा पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । पटक-पटक मन्त्री हुँदासमेत कुनै गम्भीर विवादमा नमुछिएका पौडेलको नेपाली राजनीतिमा निष्कलङ्क छवि छ ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै उनी अब सक्रिय राजनीतिबाट बिदा भएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले