काठमाडौं । इलाममा गएको भीषण पहिरोले कम्तीमा १८ जनाको ज्यान लिएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति भएको हो । डीएसपी राईका अनुसार सूर्योदय–१ मानेभञ्ज्याङमा पाँच जना, माङसेबुङ–१ पाटी गाउँमा तीन जना, देउमाई–५ ढोरेमा एक जना, देउमाई–५ धुसुनेमा दुई जना, फाकफोकथुम गाउँपालिकाको रातमाटेमा एक जना र इलाम नगरपालिकाको घोसगाउँमा छ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृतकहरूको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । पहिरोका कारण स्थानीय बस्तीहरूमा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल श्रीअन्तु गणको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयहरूका अनुसार वर्षासँगै आएको पहिरोले घर र खेतसमेत बगाएको छ, जसका कारण इलामका विभिन्न ठाउँमा जनजीवन अस्तव्यस्त बनेको छ ।







प्रतिक्रिया