१९ चैत्र २०८२, बिहिबार । April 2, 2026

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै


१२ श्रावण २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तरक्रिया आयोजना गरी मनाइँदै छ । कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको सङ्घ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउछन् ।

“नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ”, डा केसी भन्छन् ।

के हो हेपाटाइटिस ?

हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैर सङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।

कलेजोरोग विशेषज्ञ डा दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ ।

भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारीरिक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागूपदार्थ दुर्व्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ ।

चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र ई भन्दा बी र सीको सङ्क्रमण घातक हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको अनुमान छ ।

विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ ।

हेपाटाइटिसबाट कसरी बच्ने ?

चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा शर्माको सुझाव छ ।

उनी भन्छन्, ‘हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्न सके मात्र यो रोग कम हुँदै जान्छ ।’ उनका अनुसार कलेजोलाई स्वास्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ ।

हेपाटाइटिसको उपचार

“आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ”, डा केसी भन्छन्, “बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।”

डा केसी जनचेतनाको अभावमा बिरामीले जथाभाबी औषधिको सेवन गर्न नहुने बताउछन् । उनका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ । उनका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी सङ्क्रमण हुने गर्छ ।

हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उनी भन्छन्, ‘औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई रु ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ ।’सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ ।

डा शर्मा भन्छन्, ‘हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सके सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ ।’

हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उनको सुझाव छ ।

नेपालमा हेपाटाइटिसको समस्या

सरकारसँग यकिन तथ्याङ्क नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र इ बढी देखिन्छ । प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ ।

‘हेपाटाइटिस बीको एक प्रतिशतभन्दा कम छ । कुनै–कुनै ठाउँमा धेरै छ । जस्तै मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ’, डा।केसी भज्, ‘हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिन्छ ।’

चिकित्सकहरू हेपाटाइटिससम्बन्धी सरकारले जनस्वास्थ्यको कामका रूपमा राख्न आवश्यक भएको बताउछन् । डा. शर्मा भन्छन्, ‘जसरी एचआइभीलाई महत्त्व दिइन्छ, यसलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न पहल गर्नुपर्छ ।’

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र