काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको संकटप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
मंगलबार शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा उनले सहकारी पीडितलाई शीघ्र न्याय सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
राष्ट्रपति पौडेलले सहकारी समस्याबाट प्रत्यक्ष प्रभावित साना बचतकर्ताको पीडामा सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे। उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, “राष्ट्रपतिज्यूले पीडित नागरिकको रकम सुरक्षित गर्न र समस्याको द्रुत समाधानतर्फ सरकार अग्रसर होस् भन्ने निर्देशन दिनुभएको हो।”
भेटमा मन्त्री अधिकारीले हालसम्म केन्द्रीयस्तरमा दर्ता भएका ४७ सहकारीमध्ये २३ वटा संस्थालाई संकटग्रस्त घोषणा गरिएको जानकारी दिएका थिए। तीमध्ये ३ वटा सहकारीको समस्या समाधान भइसकेको र बाँकीमा प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए ।
सहकारी पीडितहरूले लामो समयदेखि आन्दोलन गर्दै आएको सन्दर्भमा राष्ट्रपति पौडेलको चासो आएको हो ।
प्रतिक्रिया