६ चैत्र २०८१, बिहिबार । March 20, 2025

गोदावरी ४ मा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु



काठमाडौं । बाँसले जीवन राम्रो बनाउँछ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको छ ।

चैत २० गतेसम्म चल्ने तालिमको बुधबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् । तालिममा गोदावरी नगरपालिकाका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थीहरू रहेका छन् ।

वडा नम्बर ४ मा बसोबास गर्ने पहरी र नगरकोटी समुदायका व्यक्तिहरूलाई तालिममा बढी सहभागी गराइएको छ । विशेष गरी पहरी र नगरकोटी समुदायका व्यक्तिहरू बाँसका सामाग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूको थप सीप विकास गर्न र व्यवसायिक बनाउनका लागि भन्दै तालिमको आयोजना गरिएको जनाइएको छ ।

सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सुरु भएको तालिमलाई चीनको सिजाङ (तिब्बत)मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंमा रहेको नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् । स्थानीय साझेदारको रुपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् ।

ग्रीन ब्याम्बो क्रियशनले तालिम संचालनका लागि प्राविधिक सहयोग गरेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरीले यो तालिमलाई अवसरको रूपमा लिएको बताए । महर्जनले बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकासले यस क्षेत्रका जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले वडा नम्बर ४ का पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको आम्दानीको स्रोत नै बाँस भएको उल्लेख गर्दै अझ राम्रो सामग्री उत्पादनमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वडामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको तालिम आएकोले ध्यानपूर्वक तालिम अवधिभर सिक्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे ।

राम्रो उत्पादन गरेर बाँसको सामग्रीको बजारीकरण गर्नेगरी अघि बढ्नुपर्ने उनले बताए । आयोजक संस्था सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले गोदावरीमा बाँसका सामग्रीबाट जीवन गुजारा गरिरहेका व्यक्तिहरूलाई व्यवसायिक बनाउनका लागि तालिम सञ्चालन गरिएको बताए ।

उनले बाँसको सामग्रीहरूको बजार नेपालमा मात्रै नभई विदेशमा पनि रहेको उल्लेख गर्दै व्यवसायिक रूपमा दक्ष जनशक्ति बनाउने लक्ष्य रहेको उल्लेख गरे । गुडविल फाउण्डेसन तिब्बतका अध्यक्ष मा जेजियानले तालिममा बाँसको चोयाबाट विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइने बताए ।

उनले चोयाको माध्यमबाट जीवन कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्नेकुरा तालिममा सिकाइने भन्दै यसबाट नेपाल र चीनका बीचमा सीप आदान–प्रदान पनि हुने उल्लेख गरे । अध्यक्ष माले यो कार्यक्रम केही वर्षअघि नै नेपाल ल्याउन चाहेको स्मरण गर्दै अहिले यहाँका कुशल कालिगढहरूले थप उन्नत सीप सिक्ने मौका पाउने विश्वास व्यक्त गरे ।

उनले यस कार्यक्रमबाट स्थानीय समुदायलाई फाइदा पुग्ने बताउँदै थप भने ‘हामी “प्लास्टिकको विकल्पका रूपमा बाँसको अवधारणालाई प्रवद्र्धन गर्दै हरित विकासलाई प्रोत्साहित गर्न चाहन्छौं, जसले हाम्रो वातावरणलाई अझ सुन्दर बनाउनेछख । यस तालिमको माध्यमबाट, नेपाली मित्रहरूले चीन र चीनको बाँस संस्कृति अझ राम्रोसँग बुझ्ने अवसर पाउनेछन् ।’

गोदावरी चेम्बरअफ कमर्सका अध्यक्ष राजन महर्जनले सन् २०१५ मा चीनले बाँसबाट गरेको समृद्धि देख्ने अवसर पाएको स्मरण गर्दै यो कार्यक्रम नेपाल र चीनबीच जनस्तर र सांस्कृतिक सम्बन्ध बढाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरे । उनले सबै क्षेत्रको प्रयासले कार्यक्रम सफल बन्ने बताए ।

त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष सानुभाई नगरकोटीले जीविकोपार्जनका लागि मात्र नभई उद्यमी र व्यापारी बन्नेगरी बाँसको सामग्री बनाउने गरी लाग्नुपर्ने बताए । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा। राजेन्द्र केसी समेत सहभागी भएको उद्घाटन कार्यक्रमलाई ग्रीन ब्याम्बो क्रियशन नेपालका संचालक प्रणव प्रधानले स्वागत गरेका थिए ।

बाँसका सामाग्री र फर्निचरमा ख्याति कमाएको चीनको सिचुआन प्रान्तस्थित मेइशान सहरका उद्योगी एवं वरिष्ठ कालिगढ लि यिनहाई र सुआई यानपिङले प्रशिक्षार्थीहरूलाई लालटिन लगायत बाँसको चोयाबाट बन्ने सामाग्री तयार पार्न सिकाउनेछन् । नेपालमा ६३ हजार हेक्टर जमिनमा ५० भन्दाबढी प्रजातिका बाँस पाइन्छन् ।

बाँसको व्यवसायिकरणका लागि नेपालमा पनि विभिन्न प्रयासहरू सुरु भएका छन् । गत फागुन १५ गतेदेखि १७ गतेसम्म खोटाङको दिक्तेलमा पहिलो राष्ट्रिय बाँस सम्मेलन समेत सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

३० दिनभित्र दर्ता नगरे फेसबुक-इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा रोक

काठमाडौं । सरकारले अबको ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम,

विप्लवको चेतावनी: समाजवाद बिना नेपालको रुपान्तरण असम्भव

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले वर्तमान

पाँचौँ दिन पनि नेप्से परिसूचकमा गिरावट, कारोबारमा हलचल

काठमाडौं। आज पनि शेयर बजारमा गिरावट आएको छ, र यो

प्रधानमन्त्री ओली: महंगी घटे पनि ‘बढ्दो महंगी नियन्त्रण गर’ नारा सधैं लोकप्रिय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले विभिन्न

रोग र कीराले बगानलाई ठुलो धक्का, समाधानका लागि विज्ञ टोली मैदानमा

भोजपुर। अलैँची किसानहरूको सामना गर्दै विभिन्न समस्याहरूको समाधान खोज्न विज्ञहरूको