२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

शनिबारबाट सगरमाथा आरोहण पुनः शुरु



काठमाडौं । यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ ।

आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शनिबार दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् ।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि विहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । “इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ ।

भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्”, उनले भने । दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत हुन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् ।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहेका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित ससयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो । उक्त क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो ।

प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए ।

सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्याङ्क अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् ।

पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले मौसमलगायतका विभिन्न कठिनाइका बाबजुद पनि आरोहणको ढोका खुलेको बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  २ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको